काठमाडौं । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले हालैको बाढी तथा पहिरोबाट प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग उपलब्ध गराएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । कम्पनीले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो रकम दिएको जनाएको छ।
बाढीका कारण वर्ल्डलिंकको नेटवर्क तथा पूर्वाधारमा समेत क्षति पुगेको थियो। कम्पनीका अनुसार प्रारम्भिक अनुमानमा प्रत्यक्ष रूपमा करिब ३.५ करोड बराबरको क्षति भएको छ। तर बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको मर्मत तथा पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ।
सडक, विद्युत्लगायत अन्य पूर्वाधारमा समस्या रहेका बेला पनि प्राविधिक टोलीहरू निरन्तर खटिएर सेवा पुनःस्थापना गरेको कम्पनीको दाबी छ। इन्टरनेट सेवालाई विपद्का बेला सूचना, सञ्चार र समन्वयको महत्वपूर्ण माध्यमका रूपमा हेर्दै यसलाई निरन्तर राख्नु आवश्यक भएको कम्पनीको भनाइ छ।
वर्ल्डलिंकले आफ्नो पूर्वाधारमा क्षति व्यहोरेको अवस्थामा पनि आर्थिक सहयोग उपलब्ध गराएको हो। कम्पनीले यसलाई व्यावसायिक गतिविधिमात्र नभई सामाजिक तथा राष्ट्रिय जिम्मेवारीका रूपमा लिएको जनाएको छ।




