काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाबाट करिब ३ महिना अवधिको लागि २० अर्ब रकम खिच्ने भएको छ ।
बैंकले ८६ दिनको लागि निक्षेप संकलन उपकरणमार्फत रकम खिच्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।
न्यूनतम ब्याजदर कबोल गर्ने संस्थालाई प्राथमिकता दिई रकम बाँडफाँट हुने राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार यो रकमको साँवा तथा ब्याज फिर्ता मंसिर ९ गते हुनेछ ।
क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था यसमा सहभागी हुन सक्नेछन् । बैंक तथा वित्तीय संस्थामा पर्याप्त रकम थुप्रिएपछि केन्द्रीय बैंकले रकम खिच्दै आएको छ ।




