काठमाडौं । सामाजिक उत्तरदायित्व र विपद्मा परेका नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिन (आज) साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटको रकम बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ।
देशभर भइरहेको अविरल वर्षा र बाढीपहिरोका कारण धेरै परिवारहरू समस्यामा परेको अवस्थालाई मध्यनजर गर्दै नाडा टोलीले मेलाको अन्तिम समयलाई राहत कोषमा योगदान पुर्याउने अवसरका रूपमा अघि बढाउने निर्णय गरेको हो।
‘एकातर्फ हामी सवारी साधन र प्रविधिको उत्सव मनाइरहेका छौँ भने अर्कोतर्फ देशैभर हाम्रा दाजुभाइ-दिदीबहिनीहरू प्राकृतिक विपत्तिको सामना गरिरहनुभएको छ,’ नाडाका प्रतिनिधिले भने, ‘अन्तिम ३ घण्टामा संकलन हुने टिकट शुल्क सोझै पीडितहरूसम्म पुर्याउने उद्देश्य राखेका छौँ। यो समयमा आउनुहुने प्रत्येक अवलोकनकर्ताको उपस्थिति राहत कार्यमा प्रत्यक्ष योगदान बन्नेछ।
काठमाडौँको भृकुटीमण्डपमा जारी नेपालकै ठूलो अटोमोबाइल प्रदर्शनीमा सहभागी भई यस परोपकारी अभियानलाई सफल बनाउन आयोजकले सर्वसाधारणलाई हार्दिक अपिल गरेको छ। संकलित सम्पूर्ण रकम निष्पक्ष र पारदर्शी ढंगले आधिकारिक राहत कोषमार्फत तत्कालै प्रभावित क्षेत्रका पीडितहरूसम्म पुर्याइने नाडाले जनाएको छ।




