मंगलवार, भाद्र ९ गते २०८३    

मंगलवार, भाद्र ९ गते २०८३    

भदौ ११ गते पाँचौँ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ’ आयोजना हुँदै

भदौ ११ गते पाँचौँ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ’ आयोजना हुँदै

सजिलो पाना
सोमवार, भाद्र ८ २०८३
सजिलो पाना
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौं । ‘डिजिटल नेपाल कन्क्लेभ’को पाँचौँ संस्करणकाे भदौ ११ गते बिहीबार ललितपुरस्थित द प्लाजामा आयोजना हुने भएको छ। आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने कन्क्लेभको मूल विषय ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ अर्थात् ‘शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना’ रहेको छ।

    डिजिटल रूपान्तरण र डिजिटल इकोसिस्टम विकासलाई मुख्य एजेन्डा बनाएर विगत पाँच वर्षदेखि आयोजना हुँदै आएको कन्क्लेभलाई प्रविधि क्षेत्रको वृहत् सम्मेलनका रूपमा लिइन्छ। सरकारले सन् २०१९ मा सार्वजनिक गरेको डिजिटल नेपाल फ्रेमवर्कलाई आधार बनाएर सन् २०२० देखि नीतिगत बहस तथा डिजिटल रुपान्तरणका विषयमा संवाद र कन्क्लेभ आयोजना हुँदै आएका छन्।

    सन् २०२६ को संस्करणमा नयाँ सरकारले सुशासनलाई दिएको प्राथमिकता, डेटामा आधारित शासन प्रणाली तथा डिजिटल अर्थतन्त्रलाई प्रमुख छलफलको विषय बनाइएको छ।

    यस वर्षको कन्क्लेभमा तीनभन्दा बढी ‘कि-नोट’ प्रस्तुति, पाँचवटा विषयगत प्यानल संवाद र एउटा ‘पावर डाइलग’ सेसन सञ्चालन हुनेछ। विषयगत विज्ञका प्रस्तुतिसँगै डिजिटल नेपालको विकासमा काम गरिरहेका १० भन्दा बढी नवप्रवर्तनको प्रस्तुति ‘डिजिटल स्पार्क’ अन्तर्गत गरिनेछ।

    सम्मेलनमा केही अन्तर्राष्ट्रिय विज्ञसहित नेपाल सरकारका उच्चस्तरीय प्रतिनिधि, प्रतिनिधिसभा सदस्य तथा मन्त्रीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा ५०० भन्दा बढीको प्रत्यक्ष सहभागिता रहने बताइएको छ।

    डिजिटल नेपाल निर्माण गर्ने सरकारको महत्वाकांक्षी योजनामा निजी क्षेत्र, सरकार तथा अन्तर्राष्ट्रिय निकायलाई सहभागी गराई नीतिगत सुधार र कार्यान्वयनका विषयमा छलफलको वातावरण बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको फाउन्डेसनका अध्यक्ष राजन लम्सालले बताए।

    डिजिटल इकोसिस्टम विकासका लागि सरकारी तथा निजी क्षेत्रबाट भइरहेका प्रयास, प्रविधि र नवप्रवर्तनलाई समेत अभियानमा जोड्ने प्रयास गरिएको उनले बताए।

    नेपालमै नेपालीले विकास गरेका प्रविधि ‘टिङटिङ’ र ‘थर्डफ्याक्टर एआई’ले यस वर्षको कन्क्लेभमा विशेष सहकार्य गरेका छन्। यी प्रविधिसहित २० भन्दा बढी नेपाली प्रविधि कार्यक्रममा प्रदर्शनीमा राखिनेछन्। कार्यक्रममा एआई प्रविधिको प्रत्यक्ष अनुभव गराउने गरी टिङटिङ ओम्नी लाइभ इन्टर्याक्सन, टिङटिङ आउटबाउन्ड र टिङटिङ रेस्पोन्सिभ एजेन्टको प्रदर्शनीसमेत हुनेछ।

    त्यस्तै, अनलाइन ट्राभल टिकट प्लेटफर्म ‘सस्तो टिकट’ र फिनटेक कम्पनी ‘फोनपे’ कार्यक्रमको ‘पावर्ड बाई’का रूपमा रहेका छन्। कार्यक्रममा न्यास आईटी, क्यान महासंघ, एनसेल बिजनेस, स्काई आईटी, कता हो, एती क्लाउड, डिसहोम, नासा एक्स, रि–सेक्युरिटी, कोड एक्स स्कुल, नेपाल टेलिकम, ग्लोबल स्पार्कलगायतको सहकार्य तथा सहयोग रहेको आयोजकले जनाएको छ।

    यस वर्षको कन्क्लेभमा छलफल मुख्यतः तीन रणनीतिक विषयमा केन्द्रित हुनेछ। पहिलो सेसन ‘गभर्नेन्स एन्ड डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर’अन्तर्गत संस्थागत डिजिटल सुधार, नागरिककेन्द्रित स्मार्ट सेवा, एकीकृत डिजिटल आईडी, नीतिगत नवप्रवर्तन तथा डेटामा आधारित निर्णय प्रक्रियाबारे छलफल हुनेछ।

    दोस्रो सेसन ‘डेटा, एआई एन्ड साइबरसिक्युरिटी’अन्तर्गत राष्ट्रिय डेटा सार्वभौमिकता, एआईको नैतिक प्रयोग, साइबर सुरक्षा, डिजिटल ट्रस्ट तथा विभिन्न क्षेत्रबीच डेटा इन्टरअपरेबिलिटीका विषयमा बहस हुनेछ।

    तेस्रो सेसन ‘डिजिटल इकोनोमी एन्ड इनोभेसन’अन्तर्गत डिजिटल रूपान्तरण तथा त्यसका लागि आवश्यक लगानीका सम्भावना र भविष्यका लागि आवश्यक डिजिटल जनशक्तिबारे छलफल हुनेछ। अन्तिम सेसन भने डिजिटल नेतृत्व तथा रुपान्तरणका लागि राजनीतिक प्रतिबद्धताको विषयमा केन्द्रित रहनेछ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij