काठमाडौं । मुक्तिनाथ विकास बैंक र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. बीच टाटाका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिदमा सहज वित्तीय सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदीका उपाध्यक्ष सौरभ थापालियाले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यअनुसार सिप्रदीका देशभरका शाखामार्फत टाटाका पिकअप तथा साना व्यावसायिक सवारी किन्ने ग्राहकलाई बैंकले सरल प्रक्रियाबाट कर्जा उपलब्ध गराउनेछ। इन्जिन गाडीका लागि मूल्यको ७० प्रतिशत र विद्युतीय सवारीका लागि ६० प्रतिशतसम्म वित्तीय सुविधा पाइनेछ। साथै, व्यवसायीले स्वीकार्य स्थिर सम्पत्ति धितो राखेको खण्डमा इन्जिन गाडीमा १०० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।
सिप्रदीले ग्राहकका आवश्यक कागजातसहित बैंकमा सिफारिस गर्नेछ भने बैंकले आफ्नो कर्जा नीति र क्रेडिट मूल्याङ्कनका आधारमा कर्जा स्वीकृत गर्नेछ। साना उद्यमी तथा व्यवसायीहरूलाई सवारी साधन खरिदमा वित्तीय पहुँच बढाउन र व्यवसाय विस्तारमा सहजता ल्याउन यो सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।




