काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फबाट ५५ लाख र कर्मचारीहरुको तर्फबाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति र नागरिकहरुको दैनिक जिवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकले सो कोषमा रकम सहयोग गरेको हो ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरुको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्वन्धित निकायहरुलाई सहयोग पुर्याउने मानवीय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको छ ।
बैंकले बाढीमा परी दिवंगत भएका नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी हालसम्म पनि सम्पर्कमा नआएका नागरिकहरुको सकुशल उद्धार एवम् घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।




