काठमाडौं । एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि पनि सञ्चालनमा ल्याइएको छ । ९ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत निजी सवारीलाई सोमबारदेखि सुरुङ प्रयोग गरेर काठमाडौँ-धादिङ आउजाउ खुला गरिएको हो ।
उद्घाटनको समयदेखि आपतकालीन सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो । सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारी साधनलाई आवागमन खुला गरिएको नागढुंगा सुरुङमार्ग सुरक्षा यूनिटका उपप्रमुख कविराज श्रेष्ठले बताए ।
परीक्षणस्वरुप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो । यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुला गर्ने तयारी छ । ‘परीक्षणका लागि सञ्चालनमा ल्याएका छौँ । अब यो हप्ता विश्लेषण गर्छौं । चालकलाई सवारी चलाउँदाको समस्या, अनुभव के–के भयो भन्ने बुझ्छौँ,’ उनले भने ।
तत्कालका लागि निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताए । उनकाअनुसार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङ सञ्चालन गरिने छ । आज बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सञ्चालन गरिएको उनले जानकारी दिए ।
सुरुङभित्र सवारी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ । प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा नचलाउन, सवारीको हेडलाइट बाल्न, गाडी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ । सुरुङको नियमित सञ्चालनका लागि सुरक्षा यूनिट, शुल्क संकलन गर्ने यूनिटसहित सुरुङभित्रका गतिविधि सीसीटीभीमार्फत निगरानी गरेर आन्तरिक तयारी भइरहेको श्रेष्ठले बताए ।




