काठमाडौं । आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। यस दिन कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक साढ ९ बजे, पूर्वाधार विकास समितिको बैठक १० बजे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक दिउँसो २ बजे बस्न लागेको हो।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफल हुनेछ भने पूर्वाधार विकास समितिको बैठकमा लगानी बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल–इन्डिया चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिका प्रतिनिधिहरूसँग छलफल हुनेछ।
यता अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायत सरोकारवाला निकायहरूसँग छलफल गर्ने र विधायन समितिको बैठकमा कृषिमन्त्री, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सविच र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवसँग संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल हुनेछ।
त्यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विज्ञ धनप्रसाद लामिछानेसँग खर्क नीति सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।




