काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिकोत्सवका अवसरमा सुदूरपश्चिम प्रदेशका १६ वटा कार्यालयमार्फत विभिन्न सामाजिक तथा बीमा जागरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ। वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै कम्पनीले प्रदेशका विभिन्न जिल्लामा करिब एक सय वटा बीमा जागरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
कम्पनीका अनुसार बीमा जागरण कार्यक्रमअन्तर्गत विद्यालय तथा कलेजका विद्यार्थी, शिक्षक, होटलका कर्मचारी, सहकारी तथा विभिन्न संस्थाका कर्मचारी, महिला तथा आमा समूहका सदस्य र स्थानीय तहका प्रतिनिधिहरूसँग बीमाको आवश्यकता, महत्व र उपयोगिताका विषयमा छलफल तथा अन्तक्र्रिया गरिएको थियो। यस्ता कार्यक्रममार्फत सर्वसाधारणमा बीमासम्बन्धी जानकारी तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोगसमेत गरेको छ। विद्यालयहरूमा कपडा वितरण गर्नुका साथै स्वास्थ्य चौकीहरूमा परीक्षण तथा उपचारका लागि आवश्यक प्रकाश उपकरण उपलब्ध गराइएको छ। त्यसैगरी बैतडी जिल्लाका दुई वटा विद्यालयलाई खानेपानीका ट्याङ्की वितरण गरिएको कम्पनीले जनाएको छ।
वार्षिकोत्सवकै अवसरमा असोज ६ गते लम्की, धनगढी र महेन्द्रनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। उक्त रक्तदान कार्यक्रमबाट ७१ पोइन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ। संकलित रगतले आवश्यकतामा रहेका बिरामीलाई सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
कम्पनीले असोज ६ गते नै देशभर रहेका आफ्ना १६ वटा कार्यालयमा अभिकर्ताहरूबीच केक काटेर नवौं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। वार्षिकोत्सवका अवसरमा कर्मचारी तथा अभिकर्ताहरूको सहभागितामा विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको थियो।
सन नेपाल लाइफ इन्स्योरेन्सले हाल देशभर १३६ वटा शाखा कार्यालयमार्फत बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा प्रविधिको प्रयोगमार्फत विद्युतीय माध्यमबाटै बीमा जारी गर्न सकिने दुई वटा नयाँ बीमा योजना पनि सार्वजनिक गरेको छ। नयाँ योजनाले बीमा सेवालाई थप सहज, सरल र प्रविधिमैत्री बनाउँदै ग्राहकलाई घरबाटै बीमा सेवा लिन सहज हुने कम्पनीको विश्वास छ।
बीमा सेवाको पहुँच विस्तारसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत निरन्तर सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनमा बीमा सचेतना अभिवृद्धि, सामाजिक सेवा तथा ग्राहककेन्द्रित सेवामा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।




