काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्रा इभले भोटेकोशी बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
करिब ५ लाख अमेरिकी डलर बराबरको उक्त रकम इनड्राइभ नेपालका प्रतिनिधिको उपस्थितिमा सेप्टेम्बर ९, २०२६ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्र नजिकै आएको हिम तथा चट्टानी पहिरोपछि भोटेकोशी नदीमा आएको बाढीले रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । बाढीका कारण घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य सार्वजनिक पूर्वाधारमा क्षति पुगेको छ ।
प्रभावित क्षेत्रमा अहिले पनि खोज, उद्धार तथा राहतका काम भइरहेका छन् भने बेपत्ता व्यक्तिहरूको खोजी जारी छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्नुका साथै इनड्राइभले प्रभावित समुदायमा प्रत्यक्ष राहतसमेत वितरण गरेको जनाएको छ । कम्पनीका अनुसार नुवाकोटको विदुर नगरपालिका–९ का बाढी प्रभावित परिवारलाई खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट र स्यानिटरी प्याडलगायतका अत्यावश्यक सामग्री वितरण गरिएको छ ।
इनड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टोम्स्कीले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै कठिन समयमा नेपाली जनताको साथमा उभिन चाहेको बताएका छन् ।
उनले इनड्राइभको सहयोगले तत्काल सहायता आवश्यक रहेका परिवारलाई राहत पुर्याउनुका साथै प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कम्पनीले बाढीमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै अझै बेपत्ता आफन्तको प्रतीक्षामा रहेका परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति ऐक्यबद्धता जनाएको छ ।




