काठमाडौं । ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार मलेसियाको क्वालालुम्पुरस्थित बायुमास ओभलमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले हराएको हो । ओमान २८.१ ओभरमै ६० रन बनाउँदै अलआउट भएको हो ।
त्यसपछि दीपेन्द्र र बसिरको साझेदारीले नेपाललाई आशा देखाएको थियो । दीपेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो दशौं अर्धशतक बनाउनेक्रममा ५१ रन जोडे । उनले ७६ बल खेली ४ चौका प्रहार गरे । प्रतियोगितामा पहिलो खेल खेलिरहेका बसिरले ४७ रन बनाए । अर्जुन कुमालको स्थानमा खेलेका उनले ८८ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।
उनीहरू दुवै जना २ ओभरको अन्तरमा आउट भएपछि नेपाल धरासायी भएको थियो । गुलशन झा ७, करण केसी ५, कप्तान सन्दीप लामिछाने ३ र शेर मल्ल शून्यमा आउट भए । ओमानका जय ओडेडरा र हसनाइन साहले ३–३ विकेट लिए ।
१४८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा आएको ओमानका ब्याटरहरू नेपाली बलरसामु खुलेर खेल्न सकेनन् । ओमानले ५ रनमै पहिलो विकेट गुमाएको थियो । त्यसपछि २-९, ३-२९, ४-४३, ५-४४, ६-४५ र ५०-७ गरी एकपछि अर्को विकेट गुमाउन पुग्यो । ओमानका लागि जतिन्दर सिंहले २५ रन बनाए । जितेन रामानन्दीले १३ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । त्यस्तै दिपेन्द्रसिंह ऐरीले पनि ३ विकेट लिए । ललित राजवंशी र रोहित पौडेलले २/२ विकेट लिए ।
अब नेपालले यूएईसँग फाइनल खेल्नेछ । आजै भएको अर्को सेमिफाइनलमा यूएईले हङकङलाई हराउँदै फाइनल सुरक्षित गरेको हो । अब शनिबार हुने फाइनलमा यूएईलाई हराए नेपालले एसिया कप खेल्नेछ ।
एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले एसिया कपमा खेल्न पाउने प्रावधान रहेको छ । नेपाल ५० ओभरको यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । २०२३ मा घरेलु भूमिमा भएको यस प्रतियोगिता जित्दै नेपालले पहिलो पटक एसिया कप खेलेको थियो ।
अबको एसिया कप २०२७ मा बंगलादेशमा हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेशसँगै भारत, अफगानिस्तान, पाकिस्तान, श्रींलकाका साथै एसीसी प्रिमियर कपको विजेता गरी ६ टिम सहभागी हुनेछन् ।




