काठमाडौं। रसुवासहित देशका विभिन्न क्षेत्रमा गत भदौ २६ गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि यामाहा नेपाल परिवार राहत अभियानमा एकजुट भएको छ। यामाहा नेपालले देशभरका आफ्ना डिलर, यामाहा २-व्हीलर डिभिजन तथा राइडर समुदायसँग मिलेर १५ लाख १५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो।
बाढीका कारण रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको, कैयौँ परिवारले घर, सम्पत्ति तथा आफ्ना प्रियजन गुमाएको अवस्थालाई मध्यनजर गर्दै राहत तथा पुनर्स्थापनामा योगदान पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ।
यामाहा २-व्हीलर डिभिजन र देशभरका यामाहा डिलरहरूले संयुक्त रूपमा स्थापना गरिएको सोलिडारिटी फन्डमार्फत १५ लाख रुपैयाँ योगदान गरेका छन्। त्यसैगरी यामाहा डिभिजनको जेन–जी टोलीले आफ्नै व्यक्तिगत बचतबाट थप १५ हजार रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका अनुसार विपद्को कठिन समयमा राष्ट्र र समुदायको साथमा उभिनु आफ्नो सामाजिक जिम्मेवारीको हिस्सा हो। त्यसैले यामाहा नेपाल परिवारले सामूहिक रूपमा राहत अभियानमा सहभागी हुँदै सबैभन्दा बढी आवश्यकता भएका प्रभावित परिवारसम्म सहयोग पुर्याउने प्रयास गरेको जनाएको छ।
यामाहा नेपालले पुनर्स्थापना र पुनर्निर्माणको प्रक्रिया जारी रहने अवधिभर प्रभावित समुदायको साथमा आफूले सक्ने हरेक प्रकारको सहयोग जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
कम्पनीले यो पहलले बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै कठिन परिस्थितिमा केही भरोसा र साथको अनुभूति दिलाउने विश्वास व्यक्त गरेको छ।




