काठमाडौं । भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढी/पानीको बहाब उच्च रहेको छ ।
राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने त्रिशूली नदीलगायत तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार तिब्बतमा हिमताल विस्फोट भएको आशंका गरिएको छ । तर, आधिकारिक विवरण भने आइनसकेको जनाइएको छ । तिब्बत पक्षबाट आधिकारिक जानकारी नआएको प्राधिकरणले जानकारी दिएको छ । तिब्बततर्फबाट बाढी आएकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
"रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भै बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित स्थानमा बस्नुहुन अनुरोध गरिन्छ," प्राधिकरणले भनेको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकाले अर्को सूचना नआउँदासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
"भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदा त्रीशूली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ," उनले भनेका छन् ।




