सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. २ (प्रदेश सभा–क) बाट ध्रुव थापाले प्रदेश महाधिवेशन प्रतिनिधि (खुला) तर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ।
थापाले आफ्नो उम्मेदवारीलाई युवा पुस्ताको आवाज, सहभागिता र नेतृत्वलाई सशक्त बनाउने अभियानका रूपमा अघि सार्नुभएको छ।
उहाँले “पद होइन जिम्मेवारी, आश्रय होइन योगदान” भन्ने नारासहित कांग्रेसभित्र नयाँ सोच, खोज र नेतृत्वलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उम्मेदवारी घोषणा गर्दै थापाले राजनीतिलाई पेशा नभई समाजसेवाको माध्यम बनाउने बताउनुभएको छ।
जिम्मेवार, परिवर्तनशील र प्रजातान्त्रिक कांग्रेस निर्माणमा योगदान गर्ने तथा पार्टी संगठनलाई अझ मजबुत, उत्तरदायी र गतिशील बनाउने उहाँको प्रतिबद्धता छ। थापाको अभियानमा “परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस” भन्ने मूल भाव अघि सारिएको छ।
उहाँले युवाको आवाज र सहभागितालाई पार्टी संगठनमा प्रभावकारी रूपमा स्थापित गर्दै नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
उम्मेदवारीका प्रमुख आधारका रूपमा थापाले युवाको आवाज, सहभागिता र नेतृत्वलाई बलियो बनाउने, नयाँ सोच र नयाँ नेतृत्वसहित अघि बढ्ने तथा राजनीतिलाई समाजसेवाको माध्यम बनाउने विषयलाई प्राथमिकतामा राख्नुभएको छ।
त्यस्तै, पार्टी संगठनलाई मजबुत, उत्तरदायी र गतिशील बनाउँदै अग्रजको अनुभव र युवाको ऊर्जालाई समेटेर अघि बढ्ने उहाँको अभियानको मुख्य उद्देश्य रहेको छ।




