काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । रास्वपाको पार्टी सचिवालयको बुधबार बसेको बैठकले ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
पार्टीले उक्त सहयोग सरकारको एकद्वार प्रणालीमार्फत उपलब्ध गराउने जनाएको छ । बैठकले प्रभावित क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी नागरिकको तत्काल उद्धारसँगै सुरक्षित बासस्थान, शुद्ध पिउने पानी, औषधि र खाद्यान्नको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
रास्वपाले आफ्ना केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका समिति, सदस्य र शुभेच्छुकलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहतमा सक्रिय हुन निर्देशन दिएको छ ।
त्यस्तै, विपद्का बेला फैलिन सक्ने भ्रामक सूचना र अफवाह नियन्त्रण गर्न आधिकारिक सरकारी निकायबाट जारी सूचनालाई मात्र आधार मान्न पार्टीले आग्रह गरेको छ । सम्भावित महामारी नियन्त्रणका लागि विशेषज्ञ स्वास्थ्य टोली परिचालन गर्न तथा बेपत्ता नागरिकको खोजी र उद्धारलाई तीव्रता दिन पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
रास्वपाले विपद्का कारण घरबारविहीन परिवारको उचित क्षतिपूर्ति र दीर्घकालीन पुनःस्थापनाको ठोस योजना तत्काल अघि बढाउन सरकारसँग माग गरेको छ । यसैबीच, विपद् व्यवस्थापन, उद्धार र राहतमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्ने भन्दै रास्वपाले आफ्ना पूर्वनिर्धारित सम्पूर्ण आधिकारिक, राजनीतिक तथा साङ्गठनिक गतिविधि अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णयसमेत गरेको छ ।




